काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीबाट जिल्लाका बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका कम्तीमा ९ वटा शाखा कार्यालय प्रभावित भएका छन्। बाढीले ती शाखाका भवन, कार्यालय संरचना तथा अन्य भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका सबै ९ वटा बैंक शाखामा क्षति पुगेको अनुमान गरिएको छ। बाढीपछि ती क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए।
‘बाढी गएको क्षेत्रमा बैंकका ९ वटा शाखा रहेका थिए। ती सबै शाखामा क्षति पुगेको प्रारम्भिक अनुमान छ,’ अध्यक्ष कोइरालाले भने, ‘सम्पर्क हुन नसकेका कारण क्षतिको विस्तृत विवरण संकलन गर्नसमेत समस्या भएको छ।’
उनका अनुसार ती शाखामा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। केही कर्मचारी भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहेको जानकारी गराएका छन्। उनीहरूले कार्यालय तथा बैंकका भौतिक संरचना भने बाढीका कारण नरहेको वा गम्भीर रूपमा क्षतिग्रस्त भएको जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंक लगायतका वाणिज्य बैंकका शाखा सञ्चालनमा थिए।
बैंकहरूले क्षतिग्रस्त शाखा तथा त्यहाँ रहेका उपकरण, कागजात र अन्य सम्पत्तिको अवस्थाबारे यकिन विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्। सञ्चार तथा यातायात सम्पर्क सहज हुन नसकेका कारण क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने अनुमान गरिएको छ।
यसैबीच, बैंकिङ क्षेत्रले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना कर्मचारीको अवस्था यकिन गर्न तथा आवश्यक परे उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। कर्मचारीको सुरक्षा र प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाइने बैंकर्स संघले जनाएको छ।
