काठमाडौं। रसुवामा बुधबार बिहान आएको आकस्मिक बाढी हिमचट्टान पहिरोका कारण उत्पन्न भएको प्रारम्भिक अध्ययनले देखाएको छ। प्लानेट ल्याब्सका स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा गरिएको अध्ययनअनुसार नेपाल–चीन सीमा क्षेत्रमा हिमचट्टान पहिरिएपछि ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र उक्त बाढी टिमुरे हुँदै भोटेकोशी तथा त्रिशूली नदीसम्म पुगेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा नेपाल–चीन सीमाक्षेत्रमा गएको हिमचट्टान पहिरोपछि ल्हेन्दे खोलामा बाढी आएको देखिएको छ।
स्याटेलाइट तस्बिरमा देखिएको हिमचट्टान पहिरो र त्यसपछि ल्हेन्दे खोलामा आएको बाढीको अवस्थालाई विश्लेषण गर्दा गेग्य्रानसहितको बाढी टिमुरे हुँदै भोटेकोशीमा मिसिएको र त्यसपछि त्रिशूली नदीतर्फ अघि बढेको प्रारम्भिक निष्कर्ष निकालिएको प्राधिकरणले जनाएको छ।
त्रिशूलीसम्मै भयावह बाढी
बुधबार बिहान करिब साढे ८ बजे आएको आकस्मिक बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गर्दा पनि उच्च वेग र ठूलो मात्रामा गेग्य्रानसहित अघि बढेको थियो।
बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखाका त्रिशूली नदीतटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। नदीको बहावसँगै आएको ढुंगा, माटो र अन्य गेग्य्रानले नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा समेत व्यापक क्षति पुर्याएको छ।
सडक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक र १९ वटा पुलमा क्षति पुर्याएको छ। बाढीमा कति घर बगे वा पूर्ण रूपमा क्षतिग्रस्त भए भन्ने यकिन विवरण भने अझै संकलन हुन बाँकी छ।
मानवीय क्षतिको विस्तृत विवरणसमेत अझै सार्वजनिक भइसकेको छैन। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले क्षतिको वास्तविक परिमाण थप स्पष्ट हुँदै जाने अधिकारीहरूले बताएका छन्।
नदी आसपासको भूगोल नै बदलियो
भोटेकोशी र त्रिशूली नदी आसपासका नदीतटीय क्षेत्रमा बाढीले ठूलो भू–भौतिक परिवर्तनसमेत ल्याएको छ। रसुवाको टिमुरे र स्याफ्रुबेँसी हुँदै नुवाकोट तथा धादिङतर्फ पुगेको बाढीले नदी किनारका संरचना र बस्तीमा व्यापक क्षति पुर्याएको छ।
आकस्मिक रूपमा आएको बाढीले नदीको प्राकृतिक बहावसँगै ठूलो मात्रामा गेग्य्रान बगाएर ल्याएकाले क्षतिको दायरा बढेको देखिएको छ। प्रभावित क्षेत्रमा विस्तृत स्थलगत अध्ययन र क्षतिको प्राविधिक मूल्याङ्कनपछि मात्रै बाढीले पुर्याएको वास्तविक क्षतिको पूर्ण तस्वीर आउनेछ।
