काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ। हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी तीव्र पारिएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएर विद्युत् प्रणालीबाट बाहिरिएका छन्। यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कुल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिएका छण् ।
प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। विभिन्न १३२, ६६ तथा २२० केभीका प्रसारण लाइन र टावरमा समेत बाढीले क्षति पुर्याएको छ।
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा विद्युत् सेवा आंशिक रूपमा प्रभावित भएको छ।
त्यस्तै, विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदुर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको मन्त्री श्रेष्ठले बताए।
उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।
वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने र सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोज तथा उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको छ।
मन्त्री श्रेष्ठले अहिले मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्यांकनको कामसमेत भइरहेको उनले जानकारी दिए ।
उनले अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
