चितवन। तीज, दसैँ–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा बजारमा नौनी र घिउको आपूर्ति घटेको छ। उत्पादन र मौज्दात घटेसँगै माग बढ्दा नौनीको मूल्य एकैपटक बढेको हो।
चितवनको थोक बजारमा गत वर्ष यही समयमा प्रतिकिलो करिब ६ सय रुपैयाँमा कारोबार भएको नौनी अहिले १ हजार ५० रुपैयाँ पुगेको छ। काठमाडौंमा यसको थोक मूल्य ९ सय र खुद्रा मूल्य १ हजार रुपैयाँसम्म पुगेको व्यवसायीले बताएका छन्।
दुग्ध विकास संस्थानका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार संस्थानसँग अहिले १ लाख २५ हजार किलो नौनी मात्र मौज्दात छ, जुन अहिलेसम्मकै न्यून हो। निजी डेरीसँग माग गर्दा समेत पर्याप्त नौनी उपलब्ध हुन नसकेको उनले बताए।
संस्थानले वार्षिक औसत ८ लाख किलो नौनी उत्पादन गर्दै आएकोमा उत्पादन करिब दुई तिहाइ घटेको छ। नेपालमा सामान्य अवस्थामा करिब ५३ लाख ५३ हजार किलो नौनी तथा घिउ उत्पादन हुने गरेकामा अहिले त्यसको करिब एक तिहाइ मात्रै उत्पादन भइरहेको गौतमले बताए।
दूध उत्पादनमा कमी, ठूला डेरी उद्योगको उत्पादन बन्द हुनु र धुलो दूधको उत्पादनसमेत रोकिँदा आपूर्ति प्रभावित भएको हो। चितवनको राहुल डेरी उद्योगले दूध अभावकै कारण चार महिनादेखि उत्पादन बन्द गरेको जनाएको छ।
जिल्ला दुग्ध सहकारी संस्था चितवनका अध्यक्ष किशोर बगाले बाह्य बजारबाट हुने अनौपचारिक आपूर्ति रोकिँदा समेत दूध तथा नौनीको अभाव बढेको बताए।
तर डेरी एसोसिएसन नेपालका महासचिव प्रमोद दाहालले बजारमा चर्चा भएजस्तो नौनीको चरम अभाव नरहेको दाबी गरेका छन्। निजी डेरीसँग ठूलो मौज्दात नभए पनि नियमित ग्राहकलाई आपूर्ति गर्न सकिने अवस्था रहेको उनले बताए।
तीजमा दरलगायत परिकारमा घिउ र नौनीको खपत बढ्ने भएकाले माग थप बढ्ने समयमा आपूर्ति घट्दा मूल्य अझै बढ्न सक्ने देखिएको छ।
