काठमाडौं।देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार धेरैजसो सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध वा एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।
बागमती प्रदेशमा ललितपुरको कान्तिलोकपथ र टिकाभैरव-चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन्।
धादिङको पृथ्वी राजमार्गस्थित कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि सुरक्षाका कारण आवागमनमा रोक लगाइएको छ।
हेटौंडा-भैँसे-भिमफेदी-फाखेल-काठमाडौं सडक खण्ड पनि पूर्ण रूपमा ठप्प छ भने काभ्रेको बीपी राजमार्गमा एकतर्फी यातायात चालु गरिएको छ। त्यस्तै रसुवाका सबै मुख्य राजमार्गहरू बाढीका कारण बन्द भएका छन्।
कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी र पैदल यात्रीलाई हिँडडुलमा रोक लगाइएको छ।
गण्डकी प्रदेशमा मनाङको चामे-बेशिसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन्।
यसैगरी मुस्ताङको जोमसोम-कोरला, पर्वतको मालढुङ्गा-बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वी राजमार्गको घाँसीकुवा खण्डमा पनि पहिरोले यातायात ठप्प भएको छ।
लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म-गमगढी सडक खण्ड पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी तथा स्थानीय प्रशासनले सडक खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक स्थितिबारे जानकारी लिन प्रहरीले सबैलाई अनुरोध गरेको छ।
