काठमाडौं। भोटेकोशी र आसपासका क्षेत्रमा गएको बाढीबाट प्रभावित बिमितहरूले करिब २१ अर्ब रुपियाँ बराबरको बिमा दाबी गरेका छन्।
नेपाल बिमा प्राधिकरणका अनुसार दुई हजार १८० बिमितले भौतिक संरचना, सवारीसाधन र अन्य सम्पत्तिको क्षतिबापत सो रकम दाबी गरेका हुन्। हालसम्मको तथ्याङ्कअनुसार २० अर्ब ९८ करोड ८७ लाख रुपियाँको प्रारम्भिक दाबी परेको छ।
प्राधिकरणका निर्देशक शाम्बराज लामिछानेका अनुसार हालसम्म परेका दाबीहरूमा सम्पत्ति बिमाको हिस्सा सबैभन्दा बढी नौ अर्ब ४१ करोड रुपियाँभन्दा बढी छ। त्यसपछि इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा र मोटर बिमाका दाबीहरू धेरै छन्। हालसम्म ६७ लाख ४८ हजार रुपियाँ मात्र भुक्तानी भएको छ। लामिछानेले सर्वसाधारण र स्थानीय व्यवसायीहरू अझै उद्धार र उपचारको चरणमा रहेकाले व्यक्तिगत दाबी आउने क्रम जारी रहेको बताउनुभयो।
कम्पनीगत रूपमा हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक छ अर्ब २७ करोड ५१ लाख रुपियाँको दाबी परेको छ। सानिमा जिआइसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा पनि ठुलो संख्यामा दाबी परेका छन्।
बाढी प्रभावितलाई राहत दिन प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी सङ्क्षिप्त कार्यविधि, २०८३’ लागु गरेको छ। नयाँ व्यवस्थाअनुसार पाँच लाख रुपियाँसम्मका सरल प्रकृतिका दाबीमा बाह्य सर्भेयर नियुक्त गर्नुपर्ने छैन। साथै, ठुलो क्षति भएका बिमितलाई अनुमानित दायित्वको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गरिएको छ। कागजात हराएका बिमितका लागि फोटो, भिडियो, बैङ्क अभिलेख वा अन्य विश्वसनीय प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने प्राधिकरणले जनाएको छ। सूचना दिन ढिलाइ भएको आधारमा मात्र बिमा कम्पनीले दाबी अस्वीकार गर्न पाउने छैनन्।
