काठमाडौं: प्राकृतिक खेतीसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालका ५० जना अधिकारी भारत प्रस्थान गरेका छन्। भारत सरकारको पूर्ण प्रायोजनमा कुरुक्षेत्रस्थित गुरुकुलमा असोज १३ देखि १७ गतेसम्म यो तालिम सञ्चालन हुनेछ।
काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार प्राकृतिक खेती प्रविधिमा क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले यस तालिममार्फत प्राकृतिक खेतीका व्यावहारिक अनुभव प्राप्त गर्ने र दिगो कृषिका उत्कृष्ट अभ्यासहरू साटासाट गर्ने अवसर पाउनेछन्।
नेपाली अधिकारीहरूको यो तेस्रो ब्याच हो। यसअघि पहिलो ब्याचले सेप्टेम्बर २०२३ मा र दोस्रो ब्याचले अगस्ट २०२५ मा तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। यो पहल कृषि क्षेत्रमा भारत र नेपालबीचको लामो समयदेखिको साझेदारीको एक हिस्सा रहेको छ। साथै, यसले दिगो र वातावरणीय रूपमा जिम्मेवार कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने दुवै देशको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
नेपालमा मानव संसाधन विकास र क्षमता अभिवृद्धिका लागि भारतले निरन्तर सहयोग गर्दै आएको छ। यो तालिम कार्यक्रम दुई देशबीचको घनिष्ठ र बहुआयामिक साझेदारीको निरन्तरता भएको दूतावासले जनाएको छ।
