काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत कार्यलाई तीव्रता दिइएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको जानकारी दिएका हुन्।
बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे। मन्त्री तिमिल्सिनाका अनुसार भोटेकोशी बाढीबाट नेपाल टेलिकमका तीन वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। ती स्थानमा वैकल्पिक टावरको व्यवस्था गरी सञ्चार सेवा अवरुद्ध हुन नदिइएको उनले जानकारी दिए। साथै, हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरेर रसुवागढी क्षेत्रमा सोलार प्रणालीसहितको टावर सञ्चालनमा ल्याइएको छ।
पछिल्लो बाढीले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कुल २९१ वटा साइटमा क्षति पुर्याएको थियो। त्यसमध्ये हालसम्म २४६ वटा साइट सञ्चालनमा आइसकेका छन्। बाँकी ४५ वटा साइटमा विद्युत आपूर्ति सुचारु हुनेबित्तिकै सेवा सञ्चालनमा आउने उनले बताए। यसका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली र जेनेरेटर परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिनिधि सभामा बोल्दै मन्त्री तिमिल्सिनाले भने, ‘दूरसञ्चारसँगै फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिलाई पनि क्रमशः मर्मत गरिरहेका छौँ। कतिपय स्थानमा फाइबर काटिँदा वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिमार्फत सेवा प्रदान गरिएको छ।’
