काठमाडौं। नेपाली क्रिकेटका प्रमुख खेलाडीहरूले पछिल्लो समय विभिन्न माध्यमबाट उल्लेख्य आम्दानी गर्न थालेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल), नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता, विदेशी फ्रेन्चाइज लिग र विभिन्न ब्रान्डसँगको साझेदारी खेलाडीको मुख्य आम्दानीका स्रोत बनेका छन्।
सन्दीप लामिछाने नेपाली क्रिकेटमा सर्वाधिक कमाउने खेलाडी मानिन्छन्। उनले आईपीएल, बिग बास, क्यारेबियन प्रिमियर लिगलगायत विश्वका ठूला लिगहरूमा सहभागिता जनाइसकेका छन्।
सन् २०२६ को लंका प्रिमियर लिगमा उनको अनुबन्ध मूल्य २० हजार अमेरिकी डलर थियो। क्यानको ‘ए प्लस’ श्रेणीमा रहेका उनले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउँछन्। साथै, उनी एनपीएलमा २० लाख रुपैयाँमा अनुबन्धित मार्की खेलाडी हुन्।
दीपेन्द्रसिंह ऐरीको आम्दानीका स्रोत पनि फराकिलो छ। उनी पनि क्यानको ‘ए प्लस’ श्रेणीमा रहेर मासिक १ लाख २० हजार रुपैयाँ तलब पाउँछन्। ग्लोबल टी-२० क्यानडा र आईएलटी-२० जस्ता लिगमा खेलेका उनको एनपीएलमा पनि बलियो उपस्थिती छ। उनी विभिन्न ब्रान्डका एम्बासडरसमेत हुन्।
रोहित पौडेलले राष्ट्रिय टोलीको कप्तानी र विभिन्न व्यावसायिक साझेदारीबाट राम्रो आम्दानी गरिरहेका छन्। उनी क्यानको ‘ए प्लस’ श्रेणीमा छन् र एनपीएलमा मार्की खेलाडीका रूपमा आबद्ध छन्। उनले क्रिकेटबाट आएको आम्दानीलाई काठमाडौंमा व्यवसायमा समेत लगानी गरेका छन्।
कुशल भुर्तेलले २०२६ को लंका प्रिमियर लिगमा १५ हजार अमेरिकी डलरमा सम्झौता गरेका थिए। उनी क्यानको ‘ए’ श्रेणीमा रहेर मासिक १ लाख रुपैयाँ तलब पाउँछन् र एनपीएलमा मार्की खेलाडी हुन्।
कुशल मल्लले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा कीर्तिमान बनाउँदै आफ्नो व्यावसायिक मूल्य बढाएका छन्। उनी एनपीएलमा मार्की खेलाडी हुन् भने क्यानको ‘सी’ श्रेणीमा रहेर मासिक ५५ हजार रुपैयाँ पाउँछन्।
आसिफ शेख एनपीएलको पछिल्लो अक्सनमा २० लाख रुपैयाँमा अनुबन्ध हुँदै सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनी क्यानको ‘ए’ श्रेणीमा रहेर वार्षिक १२ लाख रुपैयाँ पारिश्रमिक पाउँछन्।
खेलाडीहरूको आम्दानीमा कर र एजेन्ट कमिसनजस्ता कटौती हुने भए पनि, यी तथ्यांकहरूले नेपाली क्रिकेट व्यावसायिक बन्दै गएको संकेत गर्दछन्।
