काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो मूल्य सूचीअनुसार कालीमाटी थोक बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ।
शुक्रबार साग र च्याउ लगायतका तरकारीको मूल्यमा एकै दिनमा किलोमा ५० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको मूल्य ९५ रुपैयाँ पुगेको छ। बिहीबार यी दुवैको मूल्य समान ७५ रुपैयाँ थियो।
त्यस्तै, कन्य च्याउको मूल्य २३५ रुपैयाँ र डल्ले च्याउको मूल्य ४२५ रुपैयाँ पुगेको छ। बिहीबार यिनको मूल्य क्रमशः २२१ र ३७५ रुपैयाँ थियो। कुरिलोको मूल्य पनि ५५० रुपैयाँबाट बढेर ७५० रुपैयाँ पुगेको छ।
अन्य तरकारीको मूल्यमा पनि फेरबदल आएको छ। सानो लोकल गोलभेँडा प्रतिकिलो ६४ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, भारतीय सुकेको प्याज ८९ रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा सबैभन्दा सस्तो तरकारीको रूपमा स्कुस २५ रुपैयाँमा उपलब्ध छ।
थोक बजारको तुलनामा खुद्रा बजारमा तरकारीको मूल्य निकै बढी रहने गरेको छ। समितिको तथ्यांकअनुसार अन्य थुप्रै तरकारी र फलफूलको मूल्यमा पनि दैनिक उतारचढाव देखिएको छ।
