काठमाडौं। हेटौँडामा दुई दशकभन्दा लामो समयदेखि कार्यान्वयन हुन नसकेको पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन आगामी माघ १ गतेदेखि लागू गर्ने तयारी गरिएको छ।
२०६० सालमा राजपत्रमा सूचना प्रकाशित भए पनि पूर्वाधारको अभाव र सरोकारवालाबीचको असहमतिले गर्दा यो ऐन कार्यान्वयनमा आउन सकेको थिएन।
पशु सेवा कार्यालय मकवानपुरले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
कार्यालय प्रमुख डा. रामप्रकाश प्रधानका अनुसार ऐन लागू भएपछि तोकिएको वधशालाबाहेक अन्यत्र पशु वध गर्न पाइनेछैन। उनले भने, ‘आगामी माघ १ गतेदेखि ऐन कार्यान्वयनमा लैजाने तयारी गरेका छौँ। उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु पाउने वातावरण बनाउन उत्पादनदेखि बिक्रीसम्म निगरानी आवश्यक छ।’
नयाँ व्यवस्थाअनुसार पशु वध गर्नुअघि अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्नेछ भने वध गरिसकेपछि बिक्रीका लागि तयार पारिएको मासुको समेत परीक्षण गरिनेछ। वधशाला नभएका क्षेत्रमा मासु सुपरिवेक्षकले तोकेको स्थानमा मात्रै पशु वध गर्न पाइने प्रावधान राखिएको छ।
हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले मासु व्यवसायलाई व्यवस्थित बनाउन नगरपालिकाले सहजीकरण गर्ने बताइन्। उनले भनिन्, ‘नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसलाई सामान्य रूपमा लिन मिल्दैन। व्यवसायीलाई आवश्यक सहयोग र सहजीकरण गर्छौँ, तर स्वास्थ्य र स्वच्छतासम्बन्धी मापदण्ड सबैले पालना गर्नुपर्छ।’
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मापदण्डविपरीत मासु तथा माछाको कारोबार गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
अनुगमनका क्रममा केही पसलमा सरसफाइको अवस्था सन्तोषजनक नपाइएको उल्लेख गर्दै अधिकारीले भने, ‘नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा सम्झाइबुझाइ मात्र पर्याप्त हुँदैन, कानुन कार्यान्वयन गर्नुपर्छ।’ प्रशासनले यसपटक स्थानीय तह र व्यवसायीसँग समन्वय गरेर अनुगमनलाई तीव्रता दिने जनाएको छ।
