काठमाडौं। प्रभु बैंक लिमिटेडले काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा आफ्ना ग्राहक र कर्मचारीहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ। यससम्बन्धी समझदारी पत्रमा बैंक र स्टुडियोबीच औपचारिक हस्ताक्षर भएको छ।
सम्झौताअनुसार रुस्काज् ब्युटि स्टुडियोमा हेयर कटिङ, थ्रेडिङ, ब्युटी क्लास, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल आर्ट, म्यानिक्योर, पेडिक्योर, वाक्सिङ, मेकअप प्याकेज तथा कस्मेटिक सामग्रीको खरिदमा छुट पाइनेछ। प्रभु बैंकका ग्राहकले २० देखि ५० प्रतिशतसम्म र कर्मचारीहरूले ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
छुट सुविधा लिनका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्नेछ। बैंकका कर्मचारीहरूले भने छुट प्राप्त गर्न आफ्नो परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
उक्त समझदारी पत्रमा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्का वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ र स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
