काठमाडौं। बाढीपहिरोका कारण रोकिएको प्रवेशाज्ञा खुला भएपछि उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन पुनः बढ्न थालेको छ। पछिल्लो एक सातामा ३३ देशका २९७ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका छन्।
दुई साताअघि आएको बाढीपहिरो र नदी कटानले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले उपल्लो मुस्ताङ प्रवेशका लागि परमिट जारी गर्न रोकेको थियो। एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार सडक र पदमार्गको मर्मतपछि पर्यटकको चहलपहल बढेको हो। फ्रान्स, अमेरिका र चीन लगायतका देशबाट पर्यटक आउन थालेको उनले जानकारी दिए। पौडेलले भने, “पर्यटकको आगमन बढ्न थालेको छ, अब आन्तरिक पर्यटकले समेत उपल्लो क्षेत्र भरिभराउ हुन्छ।”
बेनी-जोमसोम-कोरला सडक अवरुद्ध हुँदा प्रभावित बनेका पर्यटकहरू हाल पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेर त्यहाँबाट थप यात्रा गर्ने गरेका छन्। मुस्ताङमा वसन्त र शरद् ऋतु विदेशी पर्यटकका लागि मुख्य याम मानिन्छ। पर्यटकहरू प्राचीन मानव बस्ती, गुफा, गुम्बा, लोमान्थाङ दरबार र स्थानीय रहनसहन अवलोकनमा रुचि राख्छन्।
एक्यापले सार्क राष्ट्रका पर्यटकबाट एक हजार रुपियाँ र अन्य तेस्रो मुलुकका पर्यटकबाट तीन हजार रुपियाँ शुल्क लिने गरेको छ। साथै, अर्धनिषेधित क्षेत्रमा भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन ५० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ। नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङलाई विदेशी पर्यटकका लागि खुला गरेको थियो।
