काठमाडौं। नेपालमा धान उत्पादन र उत्पादकत्व निरन्तर घट्दै गएको छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा १३ लाख ७६ हजार ८७२ हेक्टर जमिनमा ५७ लाख ५ हजार १२६ मेट्रिक टन धान उत्पादन भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ४.२० प्रतिशतले कम हो । अघिल्लो वर्ष १४ लाख २० हजार ६३६ हेक्टरमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान फलेको थियो । उत्पादकत्व पनि प्रतिहेक्टर ४.१९ मेट्रिक टनबाट घटेर ४.१४ मेट्रिक टनमा सीमित भएको छ ।
उत्पादन बढाउन धनुषाको सपहीस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले अनुसन्धान र नयाँ जातको विकासलाई तीव्रता दिएको छ । कार्यक्रमका प्रवक्ता रवीन्द्रप्रसाद साहका अनुसार हालसम्म ९९ वटा धानका जात सिफारिस भइसकेका छन् । यसमा हर्दिनाथ-१, हर्दिनाथ-६, चैते-५, बहुगुणी-२ र नेपालको पहिलो हाइब्रिड जात हर्दिनाथ हाइब्रिड-१ समावेश छन् । हर्दिनाथ-६ को उत्पादन क्षमता प्रतिहेक्टर ५.२१ मेट्रिक टन छ भने बहुगुणी-२ ले बाढी र सुक्खा दुवै सहन सक्छ ।
यद्यपि, अनुसन्धानकर्ताहरूले सिफारिस गरेका जात किसानको खेतसम्म पुग्न नसक्नु मुख्य चुनौती बनेको छ । कार्यक्रमका प्रमुख मथुरा यादवका अनुसार नयाँ जातको पर्याप्त प्रचारप्रसार नहुनु र उन्नत बिउ सहज रूपमा उपलब्ध नहुनुले अनुसन्धानको प्रतिफल उत्पादनमा देखिन सकेको छैन । ‘वर्षौंको अनुसन्धानपछि सिफारिस गरिएको जात किसानले प्रयोग नगर्दा लगानीअनुसारको प्रतिफल आउन सकेको छैन,’ यादवले भने ।
जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुनु, लामो सुक्खा र बाढीको जोखिम बढेकाले धान खेती थप प्रभावित भएको छ । वैज्ञानिकहरू अब उच्च तापक्रम र मौसमजन्य जोखिम सहन सक्ने जात विकासमा केन्द्रित छन् । विज्ञहरूका अनुसार सीमित कृषि भूमिबाट बढी उत्पादन लिन उन्नत बिउ, सिँचाइ, सन्तुलित मलखाद र आधुनिक प्रविधिको पहुँच बढाउनु आवश्यक छ । सरकारले अनुसन्धानसँगै बिउको सहज उपलब्धता र किसानलाई प्राविधिक परामर्श दिन विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
