काठमाडौं। कञ्चनपुरका किसानहरूले खेतमा काटेर राखेको धान वर्षाका कारण भिजेपछि चिन्ता व्यक्त गरेका छन्। असोज दोस्रो सातादेखिको प्रतिकूल मौसम र हालैको वर्षाले गर्दा काटिसकेको धान खेतमै कुहिन थालेपछि किसानहरू सडक किनार र अग्ला स्थानमा धान सुकाउन बाध्य भएका छन्।
पुनर्वास नगरपालिका-५ का किसान भागरतीसिंह ठकुरीले पाँच दिनअघि काटेको धान वर्षाले भिजाएपछि खेतबाट बटुलेर सडक छेउमा सुकाउन थालेको बताए। सोही नगरपालिकाका अर्का किसान गङ्गाराम रानाथारुका अनुसार बुधबारको वर्षाले आठ कठ्ठामा काटेको धान पूर्ण रूपमा भिजेको छ। पुनर्वास नगरपालिकाको कृषि शाखाका अनुसार हालसम्म १५ प्रतिशत किसानले धान काटिसकेका छन्।
बेलौरी नगरपालिकाका किसानहरूको अवस्था पनि उस्तै छ। वडा नम्बर ८ का हरिस रानाले दुई बिघामा लगाएको धान वर्षाले भिजाएपछि खेतमै पल्टाउन थालेको बताए। बेलौरी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोककुमार पाण्डेले वर्षाको सम्भावना हुँदाहुँदै पनि किसानले धान काट्न हतार गर्दा क्षति बेहोर्नुपरेको उल्लेख गर्नुभयो। नगरपालिकाका अनुसार हालसम्म २० प्रतिशत किसानले धान काटिसकेका छन्।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुका अनुसार जिल्लामा यस वर्ष ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। हालसम्म जिल्लाभर १५ प्रतिशत धान कटानी भइसकेको छ। कतिपय किसानले बाली बिमा नगराएका कारण यस वर्ष ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। असारमा रोपेको धान पाकेर झर्न थालेपछि किसानहरू मौसमको जोखिम मोलेरै धान काट्न बाध्य भएका हुन्। आकाशमा अझै बादल देखिएकाले किसानहरू काटेको धान सुरक्षित स्थानमा सार्न व्यस्त छन्।
