काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको तीव्र विकास र बढीभन्दा बढी उपयोग गर्नु रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पुनले कृत्रिम बौद्धिकता र सूचना प्रविधिको विकासमा जोड दिएर त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन प्रधानमन्त्री बालेन्द्र साहले विशेष चासो दिनुभएको उल्लेख गर्नुभयो ।
अनुसन्धान, रिसर्च र नवप्रवर्तनका कार्य कागजमा लेखेर शोधपत्र प्रकाशन गर्ने विषय मात्रै नभएकाले सरकारले यसको व्यावहारिक उपयोगमा जोड दिने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री पुनले भन्नुभयो, “अहिलेको सरकारको मुख्य उद्देश्य एआई र आईटीको अधिकतम विकास गरी देशलाई अगाडि बढाउने नै हो । त्यसैले प्रधानमन्त्रीज्यूले यसअघि सञ्चार मन्त्रालयमा रहेको आईटी सम्बन्धी सम्पूर्ण जिम्मेवारी अहिले आफू मातहत ल्याउनुभएको छ । यो कार्य प्रधानमन्त्री एक्लैले गर्ने नभई हामी सबै मिलेर फत्ते गर्नुपर्ने राष्ट्रिय दायित्व हो ।”
नवप्रवर्तन र आविष्कारका नयाँ उपलब्धिहरूलाई उद्योगहरूले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै उहाँले थप्नुभयो, “कसैले नयाँ प्रविधिको आविष्कार गर्छ भने त्यसको लाभ उद्योगहरूले पाउनुपर्छ । अनुसन्धान र नवप्रवर्तन भनेको कागजमा सीमित राख्नका लागि होइन, उद्योगधन्दाको विकासका लागि हो । तर, अहिले यस पक्षमा पर्याप्त ध्यान दिन सकिएको छैन र सूचना प्रविधिको प्रयोगबाट उद्योगहरूको प्रवर्द्धन हुन्छ भन्ने कुरा स्वयम् उद्योगपतिहरूलाई समेत राम्ररी थाहा छैन ।”
यसै गरी मन्त्री पुनले देशप्रतिको निस्वार्थ ‘पिरती’का कारण आफू राजनीति र मन्त्री पदसम्म आइपुगेको रोचक टिप्पणी गर्नुभएको छ । संसद्मा सांसदको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सुरुमा गाउँप्रतिको सेवाभाव, पछि जिल्ला हुँदै देशप्रतिको प्रेममा परिणत भएर आफू सांसद र मन्त्री बनेको बताउनुभयो । मन्त्री बनेपछि आफूलाई एक प्रकारको ‘जोगी’ भएको अनुभूति भएको पनि उहाँले संसद्मा सुनाउनुभयो ।
पुरानो चर्चित गीतको स्मरण गर्दै मन्त्री पुनले भन्नुभयो, “’म त यस्तो थिइनँ दाइ, पिरतीले जोगी बनायो’ भन्ने एउटा गीत छ । म पनि संसद् र मन्त्री हुने खालको मान्छे होइन, तर देशप्रतिको पिरतीले मलाई यहाँसम्म ल्यायो । म अमेरिकाबाट घुम्न आएको मान्छे, सुरुमा गाउँसँग पिरती बस्यो, गाउँबाट जिल्ला र हुँदै सिङ्गो देशसँग पिरती गाढा भयो । फलस्वरूप म अहिले जोगी जस्तै भएँ, व्यावहारिक रूपमा पनि म पक्का जोगी नै हुँ ।”