काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको छ। बैंकको नयाँ केन्द्रीय कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच उद्घाटन गरे।
काठमाडौं महानगरपालिका–३, बालुवाटारमा निर्माण गरिएको नयाँ भवन उद्घाटनसँगै बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट औपचारिक रूपमा बालुवाटार सरेको हो।
स्याङ्जाको वालिङबाट २०६४ साल कात्तिक १८ गते वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंकले २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय पोखराको महेन्द्रपुलमा स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते बैंकले केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाट सारेको थियो।
नवनिर्मित भवन उद्घाटनका अवसरमा बैंक परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा गरिएको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य तथा पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सेयरधनी, कर्मचारी र ग्राहकको उपस्थिति थियो।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको बताए। आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्रामा नयाँ अध्याय थपिएको उनको भनाइ थियो।
बैंकको व्यावसायिक सफलतामा लाखौं ग्राहक, हजारौं सेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उपाध्यायले बताए। संस्थागत सुशासन र सरोकारवालाको विश्वासलाई केन्द्रमा राखेर बैंक अघि बढिरहेको उनले उल्लेख गरे।
बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त बनाउँदै लैजाने उनले बताए।
गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा र ५१ एटीएम मार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।
