काठमाडौं। होटल संघ नेपाल (हान) ले क्यासिनो सञ्चालन हुने चारतारे र पाँचतारे होटललाई क्यासिनोमा १० प्रतिशत सेयर अनिवार्य गर्नेसम्बन्धी प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ।
बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ‘पर्यटन विधेयक, २०८१’ माथिको छलफलमा हानका अध्यक्ष विनायक शाहले होटललाई क्यासिनोमा लगानी गर्न बाध्य पार्न नहुने बताएका हुन्।
क्यासिनो बन्द भए त्यसबाट सिर्जना हुने कानुनी तथा आर्थिक दायित्वसमेत होटलले व्यहोर्नुपर्ने भएकाले सेयर अनिवार्य गर्ने व्यवस्था उचित नभएको शाहको भनाइ छ। होटलले इच्छा गरेमा मात्र क्यासिनोमा लगानी गर्न पाउने ऐच्छिक व्यवस्था गर्न उनले माग गरे।
प्रस्तावित विधेयकले क्यासिनोमा विदेशी संयुक्त लगानीलाई अनुमति दिए पनि होटल क्षेत्रमा विदेशी लगानी तथा प्रविधि आकर्षित गर्ने व्यवस्था नगरेकोमा समेत शाहले असन्तुष्टि जनाए।
त्यस्तै, क्यासिनोको आम्दानीको २ प्रतिशत सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था भएजस्तै होटललाई पनि खुद आम्दानीको निश्चित हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गर्न पाउने व्यवस्था गर्न उनले माग गरे।
विधेयकमा सगरमाथा आरोहणका लागि नयाँ मापदण्डसमेत प्रस्ताव गरिएको छ। जसअनुसार सगरमाथा आरोहणअघि आरोहीले कम्तीमा ७ हजार मिटरभन्दा अग्लो एउटा हिमाल आरोहण गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
