काठमाडौं। नेपालका जैविक, प्राङ्गारिक तथा बायोचार उद्योगमा भइरहेको नवप्रवर्तनले रासायनिक मलको आयात प्रतिस्थापन गर्दै कृषि उत्पादन र माटोको स्वास्थ्य सुधार गर्ने सम्भावना देखाएको छ।
संघीय संसद्को कृषि तथा प्रकृति स्रोत समितिले आयोजना गरेको कार्यक्रममा २० वटा कम्पनीले जैविक तथा प्राङ्गारिक मलको उत्पादन, नवप्रवर्तन, कृषि अभ्यास, उत्पादन क्षमता र आगामी विस्तार योजनाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा सहभागी उत्पादक तथा अनुसन्धानकर्ताले नेपालमै विकसित प्रविधि र उत्पादन प्रणालीबाट कृषि उत्पादन नघटाई आगामी तीन वर्षभित्र आयातित रासायनिक मलको ठूलो हिस्सा प्रतिस्थापन गर्न सकिने दाबी गरेका छन्। उनीहरूले लामो समयदेखि रासायनिक मलको अत्यधिक प्रयोगबाट क्षतिग्रस्त माटो पुनर्जीवन गर्न सकिने प्रमाणसमेत प्रस्तुत गरेका थिए।
उत्पादकहरूले सरकारी नीति र आपूर्ति प्रणालीले आयातित रासायनिक मललाई प्राथमिकता दिँदा स्वदेशी जैविक तथा प्राङ्गारिक मल उद्योग उपेक्षामा परेको गुनासो गरेका छन्। यद्यपि सीमित स्रोत र सरकारी सहयोगबिनै पनि कतिपय उत्पादकले उल्लेखनीय परिणाम हासिल गरेको कार्यक्रममा प्रस्तुत तथ्यहरूले देखाएको छ।
कार्यक्रममा विज्ञका रूपमा सहभागीहरूले स्वदेशी प्रविधि र उत्पादनलाई नीतिगत प्राथमिकता दिए नेपाल रासायनिक मलमा निर्भरता घटाउँदै कृषि उत्पादन, माटोको स्वास्थ्य र खाद्य सुरक्षामा सुधार गर्न सक्ने सम्भावना औँल्याएका छन्।
नेपालको कृषि प्रणालीलाई क्रमशः जैविक तथा प्राङ्गारिक प्रणालीमा रूपान्तरण गर्दै उत्पादन र उत्पादकत्व कायम राख्न सके स्वदेशी मल उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार हुने सहभागीहरूको निष्कर्ष थियो।
