नारायणगढ। पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ ९बेमौसम० मानिने वर्षातको समयमा पनि पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको उत्साहजनक उपस्थिति देखिन्छ । केन्द्रमा रहेका हात्तीका छावासँगै हरेक वर्ष खोरसोरमा आउने जङ्गली हात्ती ‘गोविन्दे’ र ‘रोनाल्डो’ पनि पर्यटकका मुख्य आकर्षण बनेका छन् ।
खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार वर्षातको समय भए पनि पर्यटकको आगमन रोकिएको छैन । दैनिक सयौँ पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा आउने गरेका छन् । असोजदेखि भने पर्यटकको चाप अझ बढ्ने चौधरीले बताए । साउनदेखि केन्द्र प्रवेशका लागि टिकट काट्नु नपर्ने व्यवस्था गरिएको छ । यो पर्यटकीय दृष्टिले अफ सिजन मानिए पनि केन्द्रमा हात्ती अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य उनले बताए ।
प्रमुख चौधरीले भने, “अहिले अफसिजन भए पनि पर्यटकहरू निरन्तर आइरहनुभएको छ । यहाँ बर्सेनि रोनाल्डो, गोविन्दे, धुर्वे, सेरगजलगायत जङ्गली हात्ती आउने र केही समय खोरसोरमा बस्ने गर्छन् । यसपटक रोनाल्डो करिब दुई महिना खोरसोरमा बसेर फर्किएपछि अहिले गोविन्दे आएको छ । गोविन्दे आएको करिब एक महिना भयो ।” उनले असोजपछि यहाँ पर्यटकको भीड बढ्ने र यो क्रम जेठसम्म रहने बताए ।
हाल खोरसोरमा आएको गोविन्दे मात्तिएको अवस्थामा रहेकाले अन्य जङ्गली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछिपछि लाग्ने गरेको छ । यसले कर्मचारी तथा पर्यटकका लागि जोखिम बढाएको प्रमुख चौधरीले बताए । उनका अनुसार अहिले गोविन्देसँगै ‘सेरगज’ र ‘भीमगज’ नामका जङ्गली हात्ती पनि रातिको समयमा खोरसोर आउने गरेका छन् । गोविन्देले उनीहरूलाई लखेट्ने गरेको उनले जानकारी दिए ।
जङ्गली हात्तीको जोखिमलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षाका लागि विशेष सतर्कता अपनाइएको प्रमुख चौधरीले जानकारी दिए । उनले भने, “हामीले कर्मचारी खटाएर पर्यटकलाई सावधानी अपनाउन लगाउने गरेका छौँ । जङ्गली हात्तीको नजिक जान नदिई सुरक्षित दूरीबाट मात्रै अवलोकन गराउने व्यवस्था मिलाएका छौँ ।” हाल केन्द्रमा नौ वटा माउ र छ वटा छावा रहेका छन् । पाँच वटा पोथी हात्ती गर्भवती छन् । तीमध्ये एउटा हात्ती यही वर्ष र अन्य चार वटा आगामी वर्ष व्याउने प्रमुख चौधरीले जानकारी दिए ।
हिजोआज पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्नुभन्दा हात्ती प्रजनन केन्द्रमा हात्ती र छावा हेर्न बढी आउने गरेका छन् । खोरसोर आउने पर्यटक छावासँग फोटो खिच्ने, खेल्ने तथा रमाउने गर्छन् । हात्तीका छावासँग रमाउन र अवलोकन गर्न मात्र नभई हात्तीसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी तथा विदेशी पर्यटक तथा अनुसन्धानकर्ता खोरसोर आउने गरेको प्रमुख चौधरीले बताए ।
