रूपन्देही । तिलोत्तमा नगरपालिका–१३ मा करिब एक अर्ब रुपैयाँ लगानीमा ‘टाइगर फरेस्ट’ रिसोर्ट सञ्चालनमा आएको छ। चिलिया वनसँग जोडिएको पाँच बिघा क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा आवास, खानपिन र मनोरञ्जनका सुविधा उपलब्ध छन्।
रिसोर्टका अधिकांश संरचना जुम्लाबाट ल्याइएको सल्लाको काठबाट निर्माण गरिएका छन्। २० वटा कोठासहित काठकै रेस्टुरेन्ट, बार, भिल्ला र चौतारी रेस्टुरेन्ट सञ्चालनमा छन्।
सञ्चालक मीनराज भुसालका अनुसार काठका कलात्मक संरचना र हरियाली वातावरणका कारण खानपिनसँगै फोटो तथा भिडियो खिच्न आउने ग्राहकसमेत बढेका छन्।
रिसोर्टमा एक हजार जना क्षमताको बैंक्वेट हल निर्माण अन्तिम चरणमा पुगेको महाप्रबन्धक क्षितिजविक्रम खनालले बताए। भारतबाट विवाह तथा अन्य समारोहका लागि आउने पाहुनालाई लक्षित गरी हल निर्माण गरिएको उनले बताए।
रिसोर्टमा नेपालीसँगै भारतीय ग्राहकसमेत आउन थालेका छन्। नजिकैको टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोका कारण भारतीय पर्यटकको आवागमन बढेको व्यवस्थापनको भनाइ छ।
सञ्चालक भुसालले थप लगानीको तयारी भइरहेको बताए। काठबाट निर्माण गरिएका संरचनाका लागि स्पष्ट कार्यविधि नहुँदा निर्माण सम्पन्न प्रमाणपत्र लिन समस्या भएको उनको गुनासो छ।
