काठमाडौं: बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निजी क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशतले मात्र बढेको थियो।
राष्ट्र बैंकका अनुसार खनिज, यातायात उपकरण उत्पादन, धातुजन्य उत्पादन र सञ्चार क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको छ। खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात उपकरण उत्पादन १२.४ प्रतिशत र धातुजन्य उत्पादनमा १०.७ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, कृषि क्षेत्रको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रको कर्जा ०.७ प्रतिशतले घटेको छ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले जलविद्युत् र पर्यटन क्षेत्रमा कर्जाको माग बढ्न थालेको बताए। उनले भने, ‘पछिल्लो समय जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा कर्जाको माग बिस्तारै बढ्दै गएको देखिन्छ। त्यसैले अब अर्थतन्त्र पनि क्रमशः चलायमान हुँदै जाने र अहिलेको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ।’ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले जलविद्युत् क्षेत्रमा मात्र डेढ खर्बभन्दा बढी ऋण लगानी स्वीकृत गरिसकेका छन्।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले सो अवधिमा ५५ खर्ब ९५ अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। साथै, विदेशी विनिमय बजारबाट २ अर्ब २५ करोड अमेरिकी डलर खरिद गरेर बजारमा ३ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबार पनि बढेर ५ खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो।
