काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका छन्।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकार नियुक्त गरेका हुन्।
यसअघि नै श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिसकेका थिए। पछिल्लो नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार टोलीमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्।
मन्त्रालयका अनुसार सल्लाहकारहरूले सम्बन्धित क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयमा मन्त्रीलाई आवश्यक सुझाव तथा परामर्श दिनेछन्। मन्त्रालयले सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।
