हेटौँडा। मकवानपुर उद्योग वाणिज्य सङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु पाँच लाख पाँच हजार ५५५ सहयोग गरेको छ ।
सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
अध्यक्ष रानाभाटले प्राकृतिक विपद्का बेला पीडित नागरिकको सहयोगमा निजी क्षेत्रले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। “विपद्ले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा प्रभावितको राहत र पुनःस्थापनामा सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो”, उनले भने ।
सङ्घले व्यवसायीबाट थप सहयोग सङ्कलन गरी प्रभावित क्षेत्रमा आवश्यक सामग्री उपलब्ध गराउने तयारी पनि गरेको अध्यक्ष रानाभाटले जानकारी दिए ।
