काठमाडौं । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक तथा लोकप्रिय नेपाली चाउचाउ ब्रान्ड ‘वाइवाइ’ का निर्माता वरुण चौधरीले मालदिभ्समा भएको एक दुर्घटनापछि भारतीय उद्योगपति गौतम अडानीले आफ्नो ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेको खुलासा गरेका छन्।
एनडीटीभी वल्ड अन्वीक्षा शिखर सम्मेलनमा बोल्दै चौधरीले अडानीलाई केवल एक व्यावसायिक मार्गदर्शक मात्र नभई आफ्नो जीवन बचाउने व्यक्तिका रूपमा समेत सम्मान गर्ने बताएका छन्।
मालदिभ्समा आफू गम्भीर दुर्घटनामा पर्दा अडानीले चिकित्सकसहितको निजी विमान पठाएर उद्धार नगरेको भए आफ्नो अवस्था के हुन्थ्यो भन्ने कल्पना गर्न नसकिने उनले उल्लेख गरे। व्यापारमा असाधारण सफलता हासिल गरे पनि अडानीको सरल र प्रेरणादायी स्वभावले आफूलाई सधैँ प्रभावित गरेको उनको भनाइ छ।
सोही सम्मेलनमा चौधरीले ‘वाइवाइ’ चाउचाउको अन्तर्राष्ट्रिय सफलता र यसको इतिहासबारे पनि प्रकाश पारे। ६ वर्षको उमेरमा भारतको बोर्डिङ स्कुलमा पढ्न गएका नेपाली विद्यार्थीहरूले नै सुरुमा वाइवाइलाई देशबाहिर पुर्याउन भूमिका खेलेको उनले बताए।
हाल करिब १०० देशमा बिक्री हुने वाइवाइ ब्रान्डकै कारण आफ्नो व्यावसायिक समूहले विश्वभर १५ वटाभन्दा बढी व्यापारिक क्षेत्रमा विस्तार गर्नसमेत सफल भएको उनले जानकारी दिए।
