काठमाडौं: ग्लोबल आईएमई बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा असोज १६ गते शुक्रबार आयोजना गर्दैछ। स्थापनाको दुई दशक पूरा गरेको यस बैंकले वित्तीय आकार र सेवा सञ्जालमा निरन्तर विस्तार गर्दै आफूलाई अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित गरेको छ। बैंकले हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा र ६९ एक्सटेन्सन काउन्टरसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ खर्ब ४४ करोड र कुल कर्जा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। निक्षेपमा २१.८० प्रतिशत र कर्जामा ८.२२ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद नाफा १५.९० प्रतिशतले बढेर ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
साधारणसभामा बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ। यसमा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर समावेश छ। साधारणसभाबाट पारित भएपछि दशैँअघि नै लाभांश वितरण गर्ने बैंकको योजना छ।
बैंकको वित्तीय सूचकहरूमा सुधार देखिएको छ। प्रतिशेयर आम्दानी १५.८४ रुपैयाँ र प्रतिशेयर किताबी मूल्य १८२.६३ रुपैयाँ पुगेको छ। बैंकमा ५९ लाखभन्दा बढी निक्षेप खाता र ९० हजारभन्दा बढी कर्जा खाता रहेका छन्। निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशत र पुँजीकोष अनुपात १२.०५ प्रतिशत रहेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा ४ करोड रुपैयाँ खर्च गरेको छ। साथै, दिगो बैंकिङलाई प्राथमिकता दिँदै हरित कर्जा अन्तर्गत ग्रीन होम लोन, रुफटप सोलार पीभी लोन, क्लाइमेट स्मार्ट एग्रिकल्चर लोन र ग्रीन एसएमई लोनलाई प्रवर्द्धन गरिरहेको छ। यसले वातावरण संरक्षणसँगै दीर्घकालीन व्यवसायिक जोखिम व्यवस्थापनमा सहयोग पुग्ने बैंकको विश्वास छ।
