काठमाडौं। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ। अक्टोबर २ अर्थात आजदेखि लागू भएको यो नयाँ व्यवस्थाले अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई समेत प्रभावित पार्नेछ।
नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको तहभन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलियाभित्रैबाट भिसा आवेदन दिन पाउने छैनन्। साथै, हालको कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय बाँकी रहेका विद्यार्थीले पनि अस्ट्रेलियाभित्रैबाट नयाँ भिसाका लागि आवेदन दिन पाउने छैनन्। कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन्। तोकिएका नयाँ मापदण्ड पूरा नहुने विद्यार्थीले अस्ट्रेलिया बाहिरबाट अर्थात अफसोर आवेदन दिनुपर्नेछ।
यो नियम विद्यावारिधि अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका हकमा भने लागू हुने छैन।
नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्न पाउने अभ्यासलाई समेत प्रभावित गरेको छ। अब विद्यार्थीले पुनरावलोकनको आवेदन दिए पनि निर्णय नआएसम्म अस्ट्रेलिया बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ।
अस्ट्रेलिया सरकारले यसअघि नै अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका क्रममा परिवार ल्याउन प्रतिबन्ध लगाउने र पोस्ट-स्टडी वर्क भिसामा रहेका विद्यार्थीका परिवारलाई समेत ल्याउन नदिने नीति सार्वजनिक गरिसकेको छ। आप्रवासीको वार्षिक संख्या ३ लाखबाट घटाएर २ लाख २५ हजारमा झार्ने सरकारी लक्ष्यअनुसार यी कडाइहरू गरिएको हो। पछिल्लो तथ्यांकअनुसार नेपाली विद्यार्थीको भिसा स्वीकृति दर करिब ३६ प्रतिशतमा झरेको छ।
