तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माणमा ६२ प्रतिशत प्रगति भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार मुख्य बाँध निर्माणका लागि आवश्यक कुल ८ लाख ५० हजार घनमिटर कंक्रिटमध्ये हालसम्म ४ लाख ७३ हजार ७६१ घनमिटर कंक्रिट राखिसकिएको छ। बाँधमा कंक्रिट राख्ने काम निरन्तर भइरहेकाले आगामी दिनमा निर्माण गति थप बढ्ने अपेक्षा गरिएको छ।
आयोजनाको प्रमुख संरचनामध्ये मुख्य बाँधको निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको भण्डारीले बताए। १४० मिटर अग्लो बाँध निर्माण सम्पन्न भएपछि आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने उनको भनाइ छ।
प्याकेज–१ अन्तर्गत मुख्य बाँधसहितका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ। यस प्याकेजमा हालसम्म करिब ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
मुख्य बाँध निर्माणका लागि आवश्यक डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार पथान्तरण गर्न अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्। मुख्य बाँध निर्माणलाई सहज बनाउन सेती नदीलाई समेत पथान्तरण गरिएको छ।
बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ। दुवै किनारमा रहेका आठवटा ग्राउटिङ टनेल निर्माण तथा एबटमेन्ट उत्खननको काम पनि पूरा भएको भण्डारीले बताए। मुख्य बाँधमा कंक्रिट राख्ने काम २०८१ चैत ७ गतेदेखि सुरु गरिएको थियो।
बाँधको फाउन्डेसनलाई थप मजबुत बनाउन विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, कन्सोलिडेसन ग्राउटिङ र कर्टेन ग्राउटिङको काम गरिएको छ।
त्यस्तै, बाँध आसपासका ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान र ग्याबियन निर्माणको काम पनि निरन्तर भइरहेको आयोजनाले जनाएको छ।
