मुस्ताङ । चीनसँगको उत्तरी कोरला नाका विद्युतीय सवारीसाधन आयातको नयाँ प्रमुख मार्गका रूपमा विकास हुन थालेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै यस नाकाबाट एक सय वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा विद्युतीय सवारीसाधनसहित विभिन्न वस्तुको आयातबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।
भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट दैनिक औसत १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ। नाकाबाट हुने आयात क्रमशः बढ्दै गएपछि व्यापारिक गतिविधिसमेत विस्तार हुन थालेको छ।
गत आर्थिक वर्षमा कोरला नाकाबाट करिब ३ हजार वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। यसले कोरला नाका विद्युतीय सवारी आयातका लागि महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित हुँदै गएको देखाएको छ।
गत आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले कुल ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। चीनबाट हुने विद्युतीय सवारीसाधन तथा अन्य वस्तुको आयात बढ्दै जाँदा चालु आर्थिक वर्षमा पनि कोरला नाकाबाट राजस्व संकलन थप बढ्ने अपेक्षा गरिएको छ।
