काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन्।
सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उल्लेख गरे। ट्रम्पले भने, “फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ। यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन।”
उनले आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा फ्रान्सले समस्या भोगिरहेको दाबी गरे। ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउने उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे आफूले पटकपटक सचेत गराएको बताए। अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उनको भनाइ थियो।
युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताए। उनले भने, “युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ।” आफ्नो देशलाई घृणा गर्ने मानिसहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने उनको दाबी थियो।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका भूराजनीतिक प्रभावतर्फ सङ्केत गरेका बेला ट्रम्पको यो टिप्पणी आएको हो। यसैबीच, बोर्डो सहरको केन्द्रमा सप्ताहान्तमा भएको अशान्ति र लुटपाटपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूका लागि एक सातासम्म रातिको समयमा बाहिर निस्कन प्रतिबन्ध लगाएका छन्।

