काठमाडौं: भोजपुरको टेम्केमैयुङ गाउँपालिका-६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीय बासिन्दाको दैनिकीमा ठूलो परिवर्तन आएको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीय अहिले घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन्।
विद्युत् सेवाको पहुँचसँगै स्थानीय बासिन्दा इन्टरनेट र टेलिभिजनजस्ता सञ्चार सुविधासँग जोडिएका छन्। यसअघि विद्युत् अभावका कारण ओझेलमा परेका यी बस्तीहरूमा अब सूचना तथा प्रविधिको पहुँच सहज बनेको छ। स्थानीय बलबहादुर राईका अनुसार, विद्युत् विस्तारले बालबालिकाको पठनपाठनदेखि घरायसी कामकाज र साना उद्योग सञ्चालनमा निकै सहजता ल्याएको छ। विगतमा कुटानीपिसानीका लागि हुने समस्या अब विद्युतीय मिलको प्रयोगले हटेको छ, जसले समय र श्रम दुवैको बचत गरेको छ।
वडाध्यक्ष सूर्यप्रसाद नेपालले भौगोलिक कठिनाइका बावजुद प्राथमिकताका आधारमा काम गर्दा थोरै बजेटमा पनि नतिजामुखी काम गर्न सफल भएको बताए। उनले भने, भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पुर्याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि प्राथमिकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको हो।
विद्युत् सेवाको विस्तारले फर्निचरलगायतका घरेलु उद्योग सञ्चालन गर्न सहज बनाइदिएको छ, जसले स्थानीय उत्पादन र आयआर्जनका गतिविधिमा थप टेवा पुर्याएको वडा कार्यालयले जनाएको छ। विद्युत्को पहुँचले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा सुधार ल्याउनुका साथै शिक्षा, सञ्चार र उद्यमशीलता विकासका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ।

