काठमाडौं: अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ सम्ममा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। बर्लिनमा आयोजित एक सरकारी व्यावसायिक सम्मेलनमा कम्पनीले सो घोषणा गरेको हो। यो लगानी डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार र क्लाउड कम्प्युटिङको विस्तारमा केन्द्रित हुनेछ।
अमेजनका प्रमुख विश्वव्यापी मामिला तथा कानुनी अधिकारी डेभिड जापोल्स्कीले जर्मनीलाई नवप्रवर्तनको केन्द्रका रूपमा व्याख्या गर्दै कम्पनीले सन् २०१० यता त्यहाँ १०० अर्ब युरोभन्दा बढी लगानी गरिसकेको जानकारी दिए। जर्मनीकी अर्थमन्त्री क्याथरिन राइचेले यस लगानीले देशको प्रविधि प्रतिस्पर्धात्मक क्षमता बढाउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।
कुल लगानीमध्ये करिब पाँच अर्ब युरो फ्रान्कफर्ट क्षेत्रमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को पूर्वाधार विकासका लागि खर्च गरिनेछ। कम्पनीले स्याटेलाइटमा आधारित इन्टरनेट सेवा ‘अमेजन लियो’, गोदामहरूमा रोबोटिक्स प्रविधि र प्राइम भिडियोमार्फत स्थानीय सामग्री निर्माणमा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ।
सुस्त अर्थतन्त्रलाई गति दिन प्रयासरत जर्मन सरकारले कर कटौती र प्रशासनिक झन्झट न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएको छ। चान्सलर फ्रेडरिक मर्जले आफ्नो सरकारले महत्वाकांक्षी सुधार अभियान सुरु गरेको बताएका छन्। यसै सम्मेलनका क्रममा जर्मनीले औद्योगिक क्षेत्रमा एआईको प्रयोग बढाउन एनभिडियासँग साझेदारी गर्ने घोषणा पनि गरेको छ। अर्थमन्त्री राइचेका अनुसार यस सम्मेलनमा सहभागी विभिन्न कम्पनीहरूले कुल २२० अर्ब युरोभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

