काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। फेस्टिभलको शुभारम्भ कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट गरिनेछ। कार्यक्रम अन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्।
महानगरपालिकाका अनुसार फेस्टिभलमा ४० वटा चलचित्र प्रदर्शन गरिनेछन्। यसमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामा समावेश छन्। शुभारम्भका अवसरमा नयाँसडक-जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा ‘भिडियो च्यालेञ्ज’बाट छानिएको लघु चलचित्र र पुरानो चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिनेछ। दर्शकका लागि फिल्म प्रदर्शन निःशुल्क हुनेछ र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।
फेस्टिभलका लागि महानगरले विभिन्न संस्थासँग सहकार्य गरेको छ। जसमा फिल्म प्रदर्शनका लागि जय नेपाल सिनेमा, यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, तथा अन्तर्राष्ट्रिय सम्बन्धका लागि अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को र अलाइन्स फ्रेन्चिज रहेका छन्। विद्युतीय टिकटका लागि हिमालय पेसँग सम्झौता भएको छ।
कार्यक्रममा ‘युथ भिडियो च्यालेञ्ज’का विजेतालाई अवार्ड र ‘नेपाल पानोरमा’का छनोटमा परेकालाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। साथै, नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवाद हुनेछन्। कात्तिक ८ गते वसन्तपुरदेखि पशुपतिनाथ क्षेत्र हुँदै पुनः वसन्तपुरसम्म हेरिटेज रन आयोजना हुनेछ भने दोस्रो दिन राष्ट्रिय सभा गृहमा रेड कार्पेट कार्यक्रम राखिएको छ। महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।

