काठमाडौं: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतले आफ्नो ऊर्जा आपूर्तिका स्रोत विविधीकरण गर्ने दिशामा उल्लेख्य प्रगति गरेको बताएका छन्। रुसबाट ठूलो परिमाणमा तेल आयात गर्दै आएको भारतले वैकल्पिक स्रोततर्फ आपूर्ति विस्तार गर्ने प्रयास गरिरहेको उनले उल्लेख गरे।
मुम्बई भ्रमणका क्रममा मङ्गलबार बोल्दै रुबियोले भारतको यो कदम बुद्धिमानी भएको बताए। उनले भने, भारतले आफ्नो ऊर्जा स्रोत विविधीकरण गर्ने इच्छा बारम्बार व्यक्त गरेको छ, जुन बुद्धिमानी कदम हो। यस्तो परिवर्तन रातारात सम्भव हुँदैन। तर, भारतले यस दिशामा उल्लेखनीय प्रगति गरेको छ र यसबाट हामी खुसी छौँ। उनले भारतको ऊर्जा आवश्यकता पूरा गर्न अमेरिका एक महत्वपूर्ण आपूर्तिकर्ता बन्न सक्ने विश्वास व्यक्त गरे।
रुबियोको भ्रमण भारत र अमेरिकाबिच व्यापार सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला भएको हो। भन्सार शुल्क र बजार पहुँचलगायतका विषयमा दुई देशबिच लामो समयदेखि मतभेद रहँदै आएको छ। यद्यपि, सम्झौताको अवस्थाबारे आशावादी देखिएका रुबियोले दुवै पक्ष सहमतिनजिक पुगेको बताए। उनले भने, हामी सम्झौताको निकै नजिक पुगेका छौँ। हस्ताक्षर हुनुअघि पुग्न सकिने जति नजिक हामी अहिले छौँ। अब केही सीमित विषय मात्र टुङ्ग्याउन बाँकी छन्।
भ्रमणका क्रममा रुबियो गुजरातको जामनगर जाने कार्यक्रम छ, जहाँ रिलायन्स समूहको विश्वकै सबैभन्दा ठूलो तेल प्रशोधन परिसर अवस्थित छ। भारतलाई तेल प्रशोधनको क्षेत्रमा महाशक्ति भन्दै उनले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर र व्यावसायिक नेतृत्वसँग भेटघाट गर्ने तालिका रहेको छ। यसअघि फेब्रुअरीमा दुवै देशबिच अन्तरिम व्यापार सम्झौता गर्ने सहमति भए पनि अमेरिकी सर्वोच्च अदालतको निर्णयपछि त्यसको कार्यान्वयनमा अन्योल देखिएको थियो। त्यसयता दुवै देशका अधिकारीहरूबीच निरन्तर वार्ता जारी छ।

