काठमाडौं: जनकपुरधामका ४५ वर्षीय रामप्रबोध ठाकुरले कपाल र दाह्री काट्ने पुर्ख्यौली पेसालाई नै आफ्नो परिवारको भविष्यको आधार बनाएका छन्। महोत्तरीको सोनमा गाउँपालिकाबाट दैनिक जनकपुरधाम आउने रामप्रबोधले विगत पाँच वर्षदेखि रामानन्द चोकमा ‘प्रगति जेन्ट्स पार्लर’ सञ्चालन गर्दै आएका छन्। उनले यसअघि सोही क्षेत्रमा २० वर्षसम्म काम गरेका थिए।
आधुनिक प्रविधि र विद्युतीय उपकरणको प्रयोगले परम्परागत हजाम पेसाको आम्दानीमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आएको रामप्रबोधको अनुभव छ। यद्यपि, ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सके व्यवसायमा टिक्न सकिने उनको विश्वास छ। यही पेसाको कमाइबाट उनले आफ्ना छोराछोरीको शिक्षा र परिवारको दैनिक खर्च धान्दै आएका छन्। उनका जेठा छोरा विनयले स्नातक तहसम्मको शिक्षा पूरा गरेका छन् भने छोरीले कक्षा १२ उत्तीर्ण गरेकी छन्।
पछिल्लो तीन-चार वर्षदेखि जेठा छोरा २३ वर्षीय विनयले पनि बुवाको काममा सघाउँदै आएका छन्। एक वित्तीय संस्थामा कार्यरत विनयले बिहान र साँझको समय सैलुनमा बिताउँछन्। औपचारिक तालिम नलिए पनि ग्राहकको रुचिअनुसार विभिन्न शैलीमा कपाल काट्न आफू सफल भएको विनय बताउँछन्। बुवाको अनुभव र छोराको सहयोगले कामको चाप व्यवस्थापन गर्न सहज भएको छ।
सैलुन सञ्चालन खर्च कटाएर मासिक ६० देखि ७० हजार रुपैयाँसम्म बचत हुने गरेको रामप्रबोध बताउँछन्। यही रकमबाट उनले छोरीको विवाहका लागि समेत बचत गरिरहेका छन्। मधेसका विभिन्न सामाजिक संस्कारमा हजामको भूमिका रहने भएकाले सैलुनबाहिरका कामबाट पनि केही आम्दानी हुने गर्छ। पुर्ख्यौली सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै रामप्रबोध र विनयले यस पेसालाई मर्यादित र दिगो बनाउने प्रयास गरिरहेका छन्।

